अध्यात्मिक चिन्तनले पूरा भयो चिकित्सा वैज्ञानिकको सपना

अध्यात्मिक चिन्तनले जब पूरा भयो एक चिकित्सा बैज्ञानिकको जीवनको सपना । बरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा.अशोक बाँस्कोटाको जीवन आरोहणका सफल पाइलामा कर्म र अध्यात्मको बेजोड समायोजना ।

अध्यात्मिक चिन्तनले पूरा भयो चिकित्सा वैज्ञानिकको सपना
एक टुक्रा जीवनको अर्थ खोज्दै हामी वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा.अशोक बाँस्कोटाको कार्यकक्षमा पुग्यौँ । यस्ता चिकित्सक जसले सयौं होइन, हजारौं मान्छेको एक टुक्रा जीवन बचाइदिनुभएको छ । हरेक मान्छेको जीवन आखिर एक टुक्रा त हो, जुन कुनै पनि बेला कालको मुखभित्र पस्न सक्छ । हो यस्तै धेरै जीवनका टुक्राहरुलाई अकाल मृत्युबाट जोगाउने वरिष्ठ सर्जन प्रा.डा.अशोक बाँस्कोटाको एक टुक्रा जीवनको रहस्य खोज्दै जाँदा एउटा तथ्य फेला प¥यो, उहाँ एक अध्यात्मवादी डाक्टर । डाक्टर अर्थात चिकित्सक आफैंमा बैज्ञानिक हुन् । विज्ञान र अध्यात्मको कस्तो संयोग ? यसको बारेमा धेरै शास्त्रर्थहरु हुन सक्लान् । तर डा. बाँस्कोटाको बिचारमा जीवन बुझ्नका लागि अध्यात्म बुझ्नुपर्छ । अर्थात अध्यात्मिक चिन्तनले एक टुक्रा जीवनको सही अर्थ थाहा हुन्छ ।

सेन्ट जेभियर्सदेखि कलेज अफ सर्जनसम्म
सन् १९४८ मा काठमाडौंमा जन्मिनुभएका डा. अशोक बाँस्कोटाले जावलाखेलको सेन्ट जेभियर्स स्कूलबाट अध्ययन थाल्नुभयो । अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेर भारतको अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गर्नुभयो । त्यसपछि उहाँले अमेरिकाबाट सन् १९७७ मा अमेरिकन बोर्ड अफ अर्थोपेडिक सर्जरी अन्तर्गत पाँच बर्षको पोष्ट ग्राजुएट सर्जिकल ट्रेनिङ गर्नुभयो । केही समय पश्चात् उहाँ नेपाल फर्किनुभयो ।

एक टुक्रा जीवन, ठूलो उपलब्धी
विश्वमा अहिले बालबालिका सबैभन्दा ठूलो जोखिममा छन् । शारीरिक र मानसिक अपाङ्गता ठूलो चुनौति छँदैछ, त्यो भन्दा ठूलो चुनौति त बनेको छ कुषोषण, रोग, दुर्घटना र बाल यौन दुव्र्यवहार । एकजना अर्थोपेडिक सर्जनको एक टुक्रा जीवनसँग यसको सम्बन्ध के हुनसक्छ ? यो प्रश्न उठ्न सक्छ । तर यो प्रश्नको जवाफ डा.अशोक बाँस्कोटाले अन्तर्राष्ट्रिय अवार्डबाट दिइसक्नुभएको छ ।
विभिन्न कारणले अपाङ्ता भएका नेपालका विपन्न वर्गका ६० हजार भन्दा धेरै बालबालिकाहरुको उपचार एवं पुनस्र्थापनामा विगत ३० वर्षदेखि उत्कृष्ट योगदान गरेबापत् वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. बाँस्कोटा “अन्तर्राष्ट्रिय स्टार इम्प्याक्ट अवार्ड २०१४” बाट सम्मानित हुनुभएको छ । त्यो पनि अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनको हातबाट । सो अवसरमा स्टार फाउन्डेसनका संस्थापक अध्यक्ष आमीर अल डब्बागको उपस्थिति रहेको थियो । बेलायतस्थित स्टार फाउन्डेसनले एशिया प्रशान्त क्षेत्रका १ सय ३० भन्दा बढी अपाङ्ताको क्षेत्रमा कार्यरत संस्थाहरुसँगको प्रतिस्पर्धात्मक मूल्यांकन गर्दा प्रा.डा. बाँस्कोटा अध्यक्ष रहेको विकलांग मित्र समूहद्धारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र उत्कृष्ठ छनौटमा परेको थियो । यो उपलव्धी बाँस्कोटाको जीवनको मात्र नभएर सिंगो नेपालको ऐतिहासिक उपलब्धी बनेको छ ।
काभ्रेको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (हस्पिटल एण्ड रिह्याविलिटेसन सेन्टर फर डिसेबल चिल्ड्रेन) को डा. बाँस्कोटा संस्थापक अध्यक्ष हुनुहुन्छ । डा. बाँस्कोटाको सक्रियतामा सन् १९८५ देखि यस केन्द्रले नेपालमा अपाङ्ग बालबालिकाको उपचार तथा पुनस्र्थापनामा निकै सन्तोषजनक काम गर्दै आएको छ । यहाँबाट उपचार तथा पुनस्र्थापना पाएका विपन्न वर्गका बालबािलकाहरुले काम गरेर आर्जन गरेको पैसाले परिवार पाल्नसमेत सफल भएका छन् । अपाङ्ता भएका विपन्न वर्गका बालबालिकाको उपचार तथा पुनस्र्थापनामा महत्वपूर्ण काम गर्ने यो विश्वकै दोस्रो ठूलो केन्द्र मानिन्छ ।
प्राध्यापक डा. अशोक बाँस्कोटाको जीवन आफैंमा एउटा विश्वविद्यालय हो । उहाँले उत्पादन गरेका धेरै शिष्यहरु नेपालको चिकित्सा विज्ञानमा अब्बल छन् । जीवनका धेरै उकाली ओरालीहरु पार गरिसकेपछि एक टुक्रा जीवनको परिभाषा उहाँले बनाइसक्नु भएको छ । आखिर उहाँको जीवनका मोडहरु कसरी मोडिए ? एक टुक्रा जीवन उहाँकै शब्दमा पस्किएका छौं ।

Dr Ashok baskota

जिम्मेवारीबाट पन्छिन खोजिन
अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र मेरो अवधारणा अनुसार शुरु भएको हो । शुरुदेखि नै यस केन्द्रको नेतृत्व मैले नै गरिरहेको छु । विभिन्न कारणले शारीरिक समस्या भोग बाद्य दुर्गम क्षेत्रका बिपन्न परिवारका बालबालिकाहरुका लागि उपचार तथा पुनस्र्थापना सेवाको बिस्तार कसरी गर्ने ? यसको प्रभावकारीता कति बनाउने ? सम्बन्धित साधन स्रोतहरुको परिचालन कसरी गर्ने ? टिम वर्क कसरी विकास गर्ने ? जस्ता चुनौतिहरुले मलाई अझ बढि काम गर्न प्रेरित गर्दै लग्यो । यस्तो सेवामुखी कामबाट कहिल्यै पनि पन्छिन खोजिन । सायद मेरो जीवनको सार्थकता यतै कतै थियो कि ? यति ठूलो समस्या समाधानका लागि मेरो सहयोग पनि महत्वपूर्ण हुन्छ भन्ने ठानेर मैले निस्वार्थ काम गरेँ । ३० वर्षदेखि निरन्तर काम गर्दा पनि मलाई अझ बढि गर्ने उत्साह जागिरहेको छ ।
लगानीको बोध गराउनुपर्छ
शुरुमा हामीले निःशुल्क उपचार गथ्र्यौं । तर ८—१० वर्षदेखि सहकार्यको शुरु गरेका छौं । आफूले अलिकति खर्च गरेको छु भन्ने आभास भएपछि व्यक्तिमा एक किसिमको आत्मविश्वास र हौसला बढ्दो रहेछ । आफ्नो पैसा लगानी भएपछि चिकित्सकको परामर्श उनीरुले गम्भिर रुप्मा लिन्छन् । आफूले प्राप्त गरेका सामाग्रीहरुको हिफाजत पनि त्यत्तिकै हुने गर्दो रहेछ । उपचारमा लाग्ने खर्चको ७ प्रतिशत मात्र बिरामीको लागत हुने गर्छ । यसले उपचारपछि पुनस्र्थापना पाएका बालबालिकाहरु चाँडै सक्रिय जीवनयापनमा फर्किएको पाएका छौं । अपाङ्ग बालबालिकाहरुले पाउने जटिल सर्जरीको सुविधालाई हेर्दा यो उनीहरुको लगानी नगन्य रुपमा लिनुपर्छ । अपाङ्ग बालबालिकाको शल्यक्रियापछि केन्द्रले नै उत्पादन गरेका क्रित्रिम अंगहरु प्रदान गरिन्छ । अस्पतालबाट डिस्चार्च गरिसकेका बालबालिकाहरुलाई सामुदायिक फिल्डका क्रियाकलापहरुमा सहभागी गराइन्छ ।

गाउँ गाउँमा नेटवर्क
स्थानीय संघसंस्थाहरुसँग मिलेर दुर्गम तथा विकट गाउँतिर गइरहेका छौं । त्यहाँका विपन्न परिवारका अपाङ्ग बालबालिकाहरुको खोजीमा व्यापक नेटवर्क बनाएका छौं । हामीहरुले फिल्ड क्याम्प, स्क्रिनिङ, औषधि वितरण, अपाङ्ग व्यक्तिको गोडाको नाप लिएर जुत्ता बनाउने जस्ता काम पनि गरिरहेका छौं । बर्षमा १ सय २० दिनको काम फिल्डमा नै हुने गर्छ । वर्षको २—३ पटक सेफ सर्जिकल क्याम्प पनि हुने गर्छ । यस किसिमको क्याम्प पूर्वी र पश्चिम क्षेत्रमा भइरहेको छ । यसलाई आगामी वर्षबाट सुदुरपश्चिम क्षेत्रमा पनि विस्तार गर्दै लाने गृहकार्यमा जुटेका छौं ।
मुलुकका लागि गौरव
म संस्थाको लिडर भएकाले यो अवार्ड लिन गएँ । यसको भाग्यशाली नेपाल र म सँग काम गर्ने सम्पूर्ण मेरो टिम हो । यो उपलव्धी पनि टिम वर्ककै सफलता हो । नेपालमा धेरैजसो संघसंस्थाहरु शुरुमा उद्घाटन गर्दा रमझम हुन्छ । पछि सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका हुन्छन् । तर हामीले आफ्नै स्रोत खोजेर यति राम्रो उपलब्धी हाँसिल गरिरहेका छौं । यो मुलुकका विपन्न वर्ग र सिंगो मुलुका लागि नै गौरवको विषय हो ।

चेञ्ज मेकर बनेँ
नेपालमा चुनौतिहरु धेरै छन् । मलाई लाग्छ चुनौति नभएको कुनै क्षेत्र नै छैन । तर चुनौतिबीचबाटै हामीले परिवर्तन ल्याउनुपर्छ । चुनौति सामना गरेर ‘चेञ्ज मेकर’ हुनुपर्ने परिस्थिति छ । मैले पनि चेञ्च मेकरको रुपमा यो जिम्मा लिएँ र अहिले यसलाई निरन्तरता दिइरहेको छु । यतिखेर मलाई निकै सन्तुष्टी मिलेको छ । शुरुमा काम गर्दा निकै कठिनाईहरुको सामना गर्नुपरेको थियो । तर जीवन भनेकै चुनौतिहरुको चाङ पार गर्दै अघि बढ्ने रथ रहेछ जस्तो भइरहेको छ अहिले ।

मेरो पाइला र अठोट
अर्थोपेडिक सर्जनका रुपमा मेरो व्यावसायिक जीवन नेपालमा सन् १९७९ बाट भएको हो । शुरुमा शान्तभवन हस्पिटलमा मैले केही वर्ष अर्थोपेडिक सर्जनको स्वयंसेवी भई काम गरेँ । त्यसपछि आनन्द वन ल्याप्रोसी हस्पिटल, बनेपाको शिर मेमोरियल हस्पिटलमा पनि स्वयंसेवी सर्जनको रुपमा काम गरेर आफूलाई व्यस्त राखेँ ।
त्यो बेला मलाई जिविका चलाउन निकै कठिन थियो । मेरो जागिर पनि थिएन । मेरा साना बच्चाहरु थिए । केही मिलेन भने विदेशतिर फर्किउँला भनेर नेपालमा अर्थोपेडिक सर्जरीमा काम शुरु गरेँ । तर मलाई कामले यति धेरै प्रेरणा दियो कि यो ठाउँ छोड्न नै सकिँन । यहाँ अर्थोपेडिक सर्जरीको धेरै आवश्यकता देखेँ । त्यसपछि व्यक्तिगत कठिनाइहरुलाई पन्छाएँ र काममा दत्तचित्त भएर अघि बढेँ । ३—४ वर्ष त एकदम दुखको वातावरणमा काम गर्नुपरेको थियो । पर्याप्त भौतिक साधन स्रोतहरु थिएनन् । अर्थोपेडिक सर्जरी सेवा आवश्यक भएको महसुस गरेर स्वयंसेवी रुपमा काम शुरु गरेँ । सैद्धान्तिक र व्यवहारिक रुपमा सिकेका कुरा अत्यधिक उपयोगमा ल्याउन सफल भएँ ।
बी एण्ड बी को जन्म
शान्तभवनमा काम गर्दा वरिष्ठ युरो सर्जन डा. जगदीश लाल बैद्य पनि आफ्नो अध्ययन सकेर इंगल्याण्डबाट नेपाल फर्किनुभएको थियो । उहाँसँग शान्तभवन हस्पिटलमा भेट भएपछि दुवैजना मिलेर काठमाडौं नर्सिङ होममा क्लिनिक शुरु ग¥यौं । अनुकूल मिलेमा स्पेशलाईज हस्पिटल बनाउने अठोट गरेका थियौं । त्यतिबेला काम गर्ने प्लेट फर्म त्यति सेटअप नभएकाले एउटा स्पेशलाईज हस्पिटलको आवश्यकता थियो । सोही अनुरुप बी एण्ड बी हस्पिटलको जन्म भयो ।
समाजसेवा जीवनको खुसी
जतिबेला बालबालिकाको लागि काम गर्न थालियो, त्यसबेला बिहान ७ बजेदेखि राति १२ बजेसम्म काम गरिरहन्थें । यो प्रक्रिया १० वर्षजति चल्यो । यसबाट मेरो प्रेरणा बढ्यो, चुनौतिहरुको सामना गर्न सकेँ । व्यक्तिगत अनुभवसँग टिमको विकास गर्न सफल भएँ । त्यसपछि अन्य व्यक्तिहरुलाई तालिम दिएर जनशक्तिहरु उत्पादन गर्दै गयौँ । अहिले कामले नै जितेको छ । जति काम गर्न सकिएको छ, यसबाट भरपूर खुसी मिलेको छ । पैसाले खुसी कहिल्यै प्राप्त हुँदैन, सुखसम्म प्राप्त होला । तर समाजसेवाले खुशी दिन्छ, भित्रैदेखि खुशी ।
उपचार ÷शिक्षण र सेवाको त्रिवेणी
यसमा आफ्नो प्रतिबद्धता चाहिन्छ । मैले आफ्नो कामको बाबजुद धेरै प्रकाशनहरु गरेको छु । इन्टरनेशनल जर्नलहरुमा आर्टिकलहरु लेखेको छु । कतिपय किताबहरुको च्याप्टर लेखेको छु । अहिलेपनि बेलायतबाट निस्कने एउटा किताबमा अर्थोपेडिक्स विषयमा मैलै लेखेको च्याप्टर निस्कदै छ । आफ्नो पेशागत चाहना र गुणस्तरीय मेडिकल सेवा दिन सँगसँगै शिक्षाको आवश्यकता पर्छ । म मा पढ्ने बानी भयो, पढाउनमा इन्ज्वाय गर्छु । साथसाथै बिरामीको उपचार र समाजसेवामा कुनै कमी गरेको छैन ।

रोगमाथि नियन्त्रण
म ६६ वर्षको भएँ । ब्लड प्रेसर र डायबिटिज भएपनि यसलाई नियन्त्रणमा राख्न सफल भएको छु । रुटिन परीक्षणको क्रममा मुटुको धमनीमा समस्या देखिएको थियो । तर समयमै शल्यक्रिया गरेर समस्याबाट छुटकारा पाएको छु । अहिलेसम्म व्यवसायिक काममा अवरोध भएको छैन ।

जीवनको सपना
स्कूल अध्ययन गर्दादेखि नै डाक्टर हुन मन थियो । डाक्टर पढेर जनताको सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । नभन्दै मिहिनेत गर्दै गएँ र त्यसमा सफल पनि भएँ । मेरा धेरै आकांक्षाहरु केही भेटिदै गए । मुलुकमा अर्थोपेडिक सर्जरीमा राम्रो काम गर्नेे सपना थियो । त्यो केही हदसम्म पूरा भएको छ । यसमा करियरको कुरा पनि जोडिएको हुन्छ । मुलुकमा हाडजोर्नीको विकराल समस्याले मलाई झस्कायो । यसलाई समाधान गर्नु मेरो जीवनको सपना भन्दा पनि जिम्मेवारी महत्पूर्ण ठानेँ । त्यसैले मैले जागिर खोजेर आफ्नो सिमित समस्या पुरा गर्नुलाई त्यति महत्व दिइन । संस्था स्थापना गरेर टिमको विकास गर्ने, उनीहरुलाई तालिम दिने सपना लगभग पूरा भएको छ । अहिले धेरै जनसंख्याले हाम्रो प्रयासको फल उपभोग गर्न पाएका छन् । हामी अझ राम्रो गर्न निरन्तर प्रयत्नरत छौं ।

पूरा भयो सपना मेरो..
सपना एकदम पूरा भएको जस्तो लाग्छ । विदेशमा पढेँ, नेपाल फर्किएँ । स्वयंसेवी भएर काम गरेँ तर जागिर खाइन । आफैं संघर्ष गरेर अघि बढेँ । त्यसैले मैले ठीक गरेँ कि जस्तो लागेको छ । ३० वर्ष भन्दा बढी कामको अनुभमा राम्रै काम गरेँ जस्तो लाग्छ किनभने अहिले बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र र बी एण्ड बी हस्पिटल गरी ८ सय जनाले जागिर पाएका छन् । सर्वसाधारण एवं विपन्न नागरिकले राम्रो सेवा पाउन सफल भएका छन् । चुनौतिहरु जति नै धेरै भएपनि सुधार गर्ने ठाउँ त प्रशस्त हुन्छन नि । त्यसैले आज म सन्तुष्ट छु ।

सरकार देख्दा निराशा
राजनीतिक अस्थिरताको असर मुलुकका सबै क्षेत्रमा पर्ने रहेछ भन्ने महशुस भइरहेको छ । मुलुकमा स्थिर सरकार भएमा हामीले शुरु गरेका स्वास्थ्य सम्बन्धि धेरै सेवा अझ सजिलो र प्रभावकारी तरिकाले समाजमा पु¥याउन सकिन्थ्यो । सरकारी निकायहरुसँग तालमेल नगरीकन केही पनि काम गर्न सकिँदैन । सरकार र हामीजस्ता निजीस्तरमा काम गर्ने निकायहरुबीच जहिले पनि तलमाथि भइरहन्छ । सरकारले अलिकति सहजकर्ताको भूमिका खेल्न सक्थ्यो । तर यस्ता कुरामा सरकार र यहाँ कार्यरत कर्मचारीहरु अनभिज्ञ छन् । हामीलाई सिकाउने व्यक्तिहरुलाई मैले के सिकाइरहेको छु भन्ने नै थाहा हुँदैन । हामीहरुलाई रोकटोक गर्ने सम्बन्धित व्यक्तिहरुमा प्रयाप्त अनुभव र काम गर्ने क्षमता छैन । उनीहरुमा अनावश्यक महत्वकांक्षा मात्र पाइन्छ । राम्रो काम गर्नेलाई पनि नराम्रो काम गर्नेसँग तुलना हुँदा मनोबल गिर्छ । कतिपय कुराहरु मेरो नियन्त्रण भन्दा बाहिर हुन्छन् । काठमाडौं विश्वविद्यालयको सहकार्यमा टिचिङ ट्रेनिङ एमएस कार्यक्रम हामीले बी एण्ड बी एमा चलाएका थियौं । करिब तीन दर्जनजति दक्ष अर्थोपेडिक सर्जन पनि उत्पादन गर्न सफल भएका थियौं । तर केही समयपछि उनीहरुले यो कार्यक्रम बन्द गरे । त्यहाँ के भयो ? म कुनै आधिकारिक निकाय होइन । मुलुकका लागि गरेको राम्रो कामप्रति कसलाई मतलब हुँदो रहेछ र ।

जीवनको अर्थ
जीवनको अर्थ वा परिभाषा ठ्याक्कै यहि भन्ने हुँदैन । आफूलाई परिस्थितिले जुन ठाउँमा ल्याएर राखेको छ त्यहीँ रमाउन सक्नुपर्छ । जतिसुकै समस्या आएपनि आफ्नो जिम्मेवारीबाट पन्छिन हुँदैन । त्यसमा आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्नुपर्छ । काममा सानो ठूलो भन्ने हुँदैन । आफ्नो कामलाई कर्तव्य र जिम्मेवारीका साथ पूरा गर्नुपर्छ । आज मेरो सफलताको उपज पनि यही हो कि भन्ठानेको छु । मेरो ध्यान र आध्यात्मिकतातिर पनि निकै विश्वास र भरोसा छ । आत्यात्मिकतातिर चासो राख्नेले नै जीवनको अर्थ बुझ्छ । सफलता पाउन अध्यात्मिक चिन्तन र विश्वास हुनैपर्छ । म परमहंस योगानन्द (विश्व प्रख्यात वेष्ट सेलर वायोग्राफी अफ अ योगी पुस्तकका लेखक) महान योग गुरुलाई निकै मान्ने गर्छु ।

नयाँ पुस्तालाई सुझाब
हामी रहेको दक्षिण एसिया विश्वको धेरै जनसंख्याको घनत्व भएको क्षेत्रमा पर्छ । जनसंख्याको अनुपातमा यहाँ धेरै चुनौतिहरु छन् । यस्तो चुनौति भएको ठाउँमा अब युवाहरु पनि केही गर्ने अठोटका साथ अघि बढ्नुपर्छ । चुनौतिसँग डराउन हुँदैन । जागिर होइन आफ्नै काम गर्न कम्मर कस्नुपर्छ र हरेक समस्याको समाधान आफैंले खोज्नुपर्छ । सरकारले गर्ला भनेर बस्न हुँदैन । आवश्यक जनताका लागि काम गर्नुपर्छ ।

 

Kamal Raj Rupakheti Sir

डा. बाँस्कोटा मौन तर प्रभावशाली सर्जन
नेपाल अपाङ्ग संघ जोरपाटीको अनुरोधमा जर्मन नेपाल सहयोग संघले करिब २० हजार डियम (ने.रु. ६ लाख) मूल्यको जर्मनीको AESCULAP  कम्पनिबाट उत्पादित सर्जरी सामान उपलब्ध गराएको थियो । उक्त सर्जिकल सामान बाकसमा थन्किएर बसेको अवस्थामा प्रा.डा. अशोक बाँस्कोबाट अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र शुरु गर्दा त्यो समान सदुपयोगमा आएको थियो । जर्मन नेपाल सहयोग संघका संस्थापक अध्यक्ष एवं स्टुट गार्ड जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्यदूत स्वर्गीय श्रीमती मार्गोट बुसाक र म सँग निरन्तर सरसल्लाह र सहयोगको निरन्तरता थियो । जर्मन नेपालले केन्द्रको एक जना डाक्टरलाई पोस्टग्राजुएसन गर्न पनि आर्थिक सहयोग गरेको थियो ।
बी एण्ड बी अस्पतालको अर्थोपेडिक डाक्टर भन्नुभन्दा पनि उहाँ गरीब बालबालिकाका जीवनदाता भन्न रुचाउँछु । शुरुमा पहाडको निकै विकट क्षेत्रमा भएका बच्चाहरु जसको लडेर हात बाँगिएको छ, अपाङ भएका छन् तिनीहरुलाई अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र मार्फत दिएको उपचार हेर्दा धेरै ठूलो मेहनत र योगदान देखिन्छ । उहाँले उपचार गरेका बालबालिकाहरु कमाएर आमाबाबुलाई पाल्न सक्ने भएका छन् । उहाँको यो योगदान अतुलनीय छ । उहाँमा नरम स्वभाव र बिरामीलाई राम्रोसँग बुझाएर उपचार गर्ने बानी छ । यो उहाँको जीवनदान जस्तै मिहिनेतको फल हो । उहाँले आत्मीय स्वभाव बच्चाहरुसँग जोडेर गर्नुभयो । यो निकै सराहनीय छ । डा. बाँस्कोटाको सेवाको भावनालाई हेर्दा निकै तारिफ गर्न लायक छ । उहाँ कहिल्यै पनि मिडियामा आउन चाहनुभएन । साइलेन्ट मस्ट इफेक्टिभ वर्कर हो उहाँ । नेपालमा अर्थोपेडिक विषयमा उहाँ जति ज्ञाता र योगदान गरेको व्यक्ति कमै छन् । उहाँ आफ्नै क्षमताले अगाडि आउनुभएको व्यक्ति हुनुहुन्छ । अहिले उहाँले पाएको पुरस्कार हेर्दा कसैले पनि उहाँलाई बधाई दिएको अवस्था छैन । बाँस्कोटा सुपर अर्थोपेडिक डाक्टर हो यो देशका लागि । उहाँले गरेको योगदान अतुलनीय छ ।

9 thoughts on “अध्यात्मिक चिन्तनले पूरा भयो चिकित्सा वैज्ञानिकको सपना”

  1. 2jbet, let’s get down to business! I’m ready to place my bets and see if I can win big. Fingers crossed for some lucky wins! Explore betting options at 2jbet.

  2. F8betceo, nghe tên là thấy uy tín rồi đó nha. Chơi thử thấy giao diện dễ nhìn, nạp rút cũng nhanh nữa. Anh em nào đam mê thì nhào vô thử vận may đi ha. f8betceo

  3. Win78vn8, nghe nói là mới nổi gần đây phải không ta? Để vào xem thử có game gì hay ho không. Chứ mấy chỗ cũ chơi hoài cũng chán. win78vn8

Leave a Reply

Your email address will not be published. Required fields are marked *